श्रीस्वस्थानी व्रतकथा · अध्याय १७ / ३१
वृन्दा र जालन्धर
विष्णु मानसरोवर पुग्नुभयो
कुमारले भन्नुभयो, “हे अगस्त्य! महादेव राजहंसहरूका राजा बनेर मानसरोवरमा जलक्रीडा गरिरहनुभएको थियो। विष्णुलाई हतारिँदै आएको देखेर उहाँले सोध्नुभयो, ‘हे विष्णु! यति हतारमा किन आयौ, के सङ्कट पर्यो?’”
विष्णुले भन्नुभयो, “तपाईं यता आएपछि जालन्धर तपाईंको रूप लिएर पार्वतीलाई छल्न कैलाश पुग्यो। पार्वतीले थाहा पाएर लुकेर मलाई बोलाउनुभयो। अब म गएर उसकी पत्नी वृन्दाको पतिव्रत भङ्ग गराउँछु।”
यो सुनेर महादेव राजहंसको रूप छोडेर रिसले राता आँखा पार्दै भन्नुभयो, “त्यसो हो भने म अहिल्यै कैलाश जान्छु। तिमी वृन्दाकहाँ जाऊ। त्यो पापी जालन्धरलाई म मारेरै छोड्छु।” महादेव कैलाश पुग्नुभयो, र पार्वतीले उहाँको पाउ धोएर सबै कुरा सुनाइन्।
वृन्दाको चलाखी
विष्णु जालन्धरको रूप लिएर अन्तःपुर पुग्नुभयो। पति आए भनेर वृन्दाले पाउ धोइदिइन् र भित्र लगेर सोधिन्, “पार्वतीलाई छल्न जानुभएको के भयो? पार्वती मभन्दा कति सुन्दरी रहिछन्?”
जालन्धररूपी विष्णुले भन्नुभयो, “पार्वतीलाई छल्न नसकिने रहेछ। ढोकाका पाले देखेर डराएर फर्केँ।” कुरा गर्दागर्दै वृन्दाले थाहा पाइन्, “यी मेरा पति होइनन्, विष्णु मलाई छल्न आएका रहेछन्।”
वृन्दाले मीठो बोलीमा भनिन्, “स्वामी! म एउटा कुरा भन्छु, मान्नुहुन्छ?” विष्णुले जे भने पनि मान्ने वाचा गर्नुभयो। वृन्दाले भनिन्, “म नआउन्जेल यही कोठामा बस्नुहोला।” उनले विष्णुलाई कोठामा थुनेर आफू अर्कै घरमा गइन्।
अहिले आउलिन्, भरे आउलिन् भन्दाभन्दै चार दिन बिते, तर वृन्दा फर्किनन्। विष्णु चिन्तित हुनुभयो, “यसरी कति दिन बस्ने? निस्कूँ भने वाचा टुट्छ। उता महादेव के भन्नुहोला?”
सुन्दर भिक्षुक
विष्णु धेरै दिनसम्म नफर्केकाले महादेवले ध्यान लगाएर हेर्नुभयो र पार्वतीलाई भन्नुभयो, “वृन्दालाई छल्न गएका विष्णुलाई उनैले छलेर कोठामा थुनिराखिछन्।”
महादेवले मायाले सोह्र वर्षको एउटा सुन्दर भिक्षुक बनाएर भन्नुभयो, “जालन्धरको घर गएर भिक्षा माग, र वृन्दाले थुनेर राखेकालाई मागेर ल्याऊ।”
भिक्षुकले जालन्धरको घर पुगेर “भिक्षां देहि” भने। झ्यालबाट हेर्दा वृन्दाले यस्तो सुन्दर योगी पहिले कहिल्यै देखेकी थिइनन्, त्यसैले भिक्षा लिएर बाहिर आइन्। योगीले भने, “म केही माग्न आएको हुँ। दिने भए मात्र माग्छु।” वृन्दाले दिन मिल्ने जे भए पनि दिने वाचा गरिन्। योगीले भने, “तिमीले कोठामा थुनेर राखेकालाई मलाई देऊ।”
वृन्दाले सोचिन्, “यो योगीले छलेर वाचा गराएर माग्यो। नदिए वाचा टुट्छ, र वाचा तोड्नु उचित होइन।” उनले विष्णुलाई कोठाबाट निकालेर योगीलाई सुम्पिदिइन्। योगी विष्णुलाई लिएर अन्तर्धान भए र कैलाश पुगे।
विष्णु लज्जित हुँदै गरुडमा चढेर कैलाश पुग्नुभयो। गरुड उड्दाको ठूलो आवाजले कैलाशमा बेहोस परेको जालन्धर ब्युँझियो। उसले सोच्यो, “पार्वतीलाई छल्नु त असम्भव रहेछ, घर फर्कन्छु।”
महादेवले सोध्नुभयो, “हे विष्णु! यतिका दिन त्यहाँ के गर्दै थियौ, वृन्दाको सत्य डगाउन सक्यौ?” विष्णुले सबै कुरा सुनाउनुभयो। महादेवले सबै देवता, गण र भूतप्रेतलाई जालन्धरसँग लड्न तयार हुन भन्नुभयो, र नारदलाई जालन्धरलाई युद्धको खबर दिन पठाउनुभयो।
युद्धको तयारी
घर फर्केको जालन्धरलाई वृन्दाले सोधिन्, “पार्वतीलाई छल्न गएको के भयो?” जालन्धरले भन्यो, “महादेवको भेषमा कैलाश पुग्दा पार्वती सुनको कमण्डलु लिएर मेरो खुट्टा धुन आइन्। उनीजस्ती सुन्दरी तीनै लोकमा छैनन्। उनलाई देखेर म बेहोस भएँ। होस आएपछि पार्वती भेटिनन्, र म फर्केँ।”
वृन्दाले भनिन्, “तपाईं गएपछि विष्णु तपाईंको रूप लिएर मलाई छल्न आएका थिए। मैले चिनेर धेरै दिन कोठामा थुनेँ। पछि एउटा भिक्षुकले मागेकाले दिएर पठाएँ।”
जालन्धरले रिसाउँदै भन्यो, “त्यसो हो भने म पार्वतीलाई छलेरै छोड्छु।” ऊ घरबाट निस्कँदा नारद आइपुगे र भने, “तिमी पार्वतीलाई छल्न जाँदैछौ भन्ने मलाई थाहा छ। तर सुन, ब्रह्मालगायत सबै देवता तिमीसँग लड्न आउँदैछन्। अन्त नगई युद्धको तयारी गर।”
जालन्धरले वृन्दालाई घर सम्हाल्न भनेर त्रिशूल लियो र आफ्नो सेना लिएर कैलाशतिर हिँड्यो।
जालन्धरको अन्त्य
बाटैमा दुवै सेनाको जम्काभेट भयो र भयङ्कर युद्ध सुरु भयो। देवताहरूका कुनै पनि हतियारले जालन्धरलाई केही गर्न सकेनन्। विष्णुको गदा उसलाई छुँदै नछोई फर्कियो, र इन्द्रको वज्र पनि बेकार भयो।
विष्णु महादेवकहाँ गएर भन्नुभयो, “हामीले जालन्धरलाई मार्न सकेनौँ। तपाईंबिना उसलाई मार्ने शक्ति अरू कसैमा छैन।” महादेवले भन्नुभयो, “वृन्दाको पतिव्रतको बलले गर्दा जालन्धरलाई कसैले मार्न सक्दैन। तिमी जालन्धरको रूप लिएर अन्तःपुर जाऊ र वृन्दाको पतिव्रत भङ्ग गराऊ। म गएर त्यो पापीलाई मार्छु।”
विष्णु जालन्धरको रूपमा, हातमा त्रिशूल र डमरु लिएर अन्तःपुर पुग्नुभयो। वृन्दाले पति आए भनेर हात-पाउ धोइदिइन् र सोधिन्, “युद्धमा के भयो?” विष्णुले भन्नुभयो, “युद्धबाट थाकेर आराम गर्न आएँ, भोक लाग्यो।” वृन्दाले थरीथरीका परिकार बनाएर खुवाइन्। त्यस रात पतिको रूपमा आएका विष्णुले छलले वृन्दाको पतिव्रत भङ्ग गराए।
वृन्दाको पतिव्रत भङ्ग भएपछि जालन्धरको शक्ति घट्यो, र ऊ आकाशमा गएर मायाको युद्ध गर्न थाल्यो। महादेव पनि आकाशमै गएर लड्नुभयो। उसको शक्ति घटेको देखेर महादेवले तीनै आँखाबाट आगो निकाल्दै त्रिशूल उसको छातीमा हान्नुभयो। जालन्धर मरेर ठूलो आवाजसाथ अन्तःपुरको चोकमा खस्यो।
वृन्दाको शोक
बिहान विष्णुले आफ्नो शङ्ख, चक्र, गदा र पद्म धारण गरेको चतुर्भुज रूप देखाउनुभयो। वृन्दाले रिसाउँदै भनिन्, “हे पापी विष्णु! तिमीले छल गरेर मेरो पतिव्रत नष्ट गर्यौ।” विष्णुले सम्झाउन खोज्नुभयो, “जालन्धरलाई शिवले मारिसक्नुभयो।”
चोकमा ठूलो आवाज सुनेर वृन्दा हेर्न गइन् र आफ्नै पति मरेको देखिन्। उनी रुँदै भन्न थालिन्, “हे स्वामी! मलाई एक्लै छोडेर कहाँ जानुभयो? पापी विष्णुको छलले तपाईंको यो हाल भयो, र मेरो पनि यो अवस्था भयो।”