श्रीस्वस्थानी व्रतकथा · अध्याय २३ / ३१
गोमाको स्वस्थानी व्रत
पानको भाँडो
कुमारले भन्नुभयो, “हे अगस्त्य! गोमा धागोको लच्छा लिएर चन्द्रज्योति नगरको पान बेच्ने बरहीको घर पुगिन् र भनिन्, ‘मेरो घरमा सप्तर्षि आउनुभएको छ। यो धागो लिएर पान देऊ, उहाँहरूलाई खान दिन्छु।’”
बरहीले भन्यो, “पान त अलिकति पनि छैन, जति थियो हिजै बेचिसकेँ। नपत्याए हेर्नुहोस्।” उसले पानको भाँडो खोलेर देखायो। तर भाँडोभरि पान थियो। अचम्ममा पर्दै बरहीले भन्यो, “यो भाँडोको पान त हिजै बेचिसकेको थिएँ, आज कहाँबाट आयो? सप्तर्षिलाई खान दिन्छु भनेकाले पो यस्तो भयो कि!” उसले लज्जित हुँदै भन्यो, “तपाईं धन्य हुनुहुन्छ, धागो पनि दिनुपर्दैन।” उसले पान, ल्वाङ र सुपारी दियो।
गोमा खुसी हुँदै घर फर्किन्, तर सप्तर्षि गइसकेका थिए। गोमाले सोचिन्, “म पापिनीको हातको पान खानुपर्ला भनेर हिँडेछन्। म धिक्कार रहिछु।” केही बेरपछि घर बढार्न पिर्का उठाउँदा उनले त्यहाँ सप्तर्षिले छोडेका सात सुनका कौडी भेट्टाइन्।
खाट र चर्खालाई कथा
त्यो धनले गोमाले सप्तर्षिले बताएअनुसार पुस शुक्ल पूर्णिमादेखि व्रत सुरु गरिन्। उनी नङ काटेर, नुहाएर, एक छाक खाएर हरेक दिन मध्याह्नमा महादेवको पूजा गर्थिन्। राति कथा सुन्ने कोही नभएकाले उनी आफ्नो खाट, चर्खा, धागो बेर्ने उँढँटा र धनु सामुन्ने राखेर स्वस्थानीको कथा भन्थिन्।
चन्द्रज्योतिका गोठाला केटाकेटीहरूले आवाज सुनेर खरको भित्ता च्यातेर चियाए। खाट, चर्खा र धनु सामुन्ने राखेर एक्लै बोलिरहेकी गोमालाई देखेर उनीहरूले सोधे, “गोमा ब्राह्मणी! किन एक्लै कराउँदै हुनुहुन्छ?”
गोमाले भनिन्, “सप्तर्षिले स्वस्थानीको व्रत गर्न सिकाउनुभएको छ, त्यसैको कथा भन्दैछु। मलाई कुनै रोग लागेको छैन, म बौलाएकी पनि छैन। सुन्ने कोही नभएकाले खाट, चर्खा र धनुलाई सुनाएकी हुँ।”
त्यसपछि गोठाला केटाकेटीहरू दिउँसो खान लगेको खाना गोमालाई छोडेर जान थाले। उनीहरू हरेक दिन कथा सुन्थे र सकेको कुरा ल्याइदिन्थे। स्वस्थानीको कृपाले उनीहरूले घाँस खोज्न टाढा जानुपर्न छोड्यो, नजिकै घाँस पाउन थाले। गोमाको घरमा पनि अन्न र धन बढ्दै गयो।
माघ पूर्णिमाको पूजा
माघ शुक्ल पूर्णिमाका दिन गोमाले सबै सामग्री तयार पारेर एकचित्त भई स्वस्थानीको पूजा गरिन्। हातमा अर्घ्यपात्र लिएर उनले भनिन्, “हे स्वस्थानी परमेश्वरी! भिक्षुरूपी महादेवले डमरु बजाएर दिएको श्राप नाश गरिदिनुहोस्। मेरा छोरा नवराज र मलाई यो लोकमा सुख-सम्पत्ति दिनुहोस्, र परलोकमा मुक्ति दिनुहोस्। आदि, मध्य र अन्त्य नभएकी, सृष्टि, पालन र संहार गर्ने हे जगदीश्वरी! तपाईंलाई कोटि-कोटि नमस्कार।”
उनले महादेवको पनि स्तुति गरिन्, अर्घ्य दिइन् र दण्डवत् गरिन्। प्रसाद झिकेर आठ रोटी, आठ अक्षता, आठ बेलीका फूल, आठ पान र आठ कुड्का सुपारी सगुनसहित “यो मेरो छोरा नवराजका लागि” भन्दै छुट्याएर राखिन्। सय रोटी आफैँ फलाहार गरिन् र रात जाग्राम बसिन्।
नवराज फर्के
त्यही रात व्रतको प्रभावले नवराज टुप्लुक्क आइपुगे र बाहिरबाट “आमा!” भनेर बोलाए। गोमाले झट्ट उठेर ढोका खोलिन् र सोधिन्, “तेरा बुबाको के खबर छ?”
नवराजले भने, “भिक्षा माग्न जानुभएका बुबा गङ्गा किनारमा पूजाका लागि फलफूल टिप्न रूखमा चढ्दा हाँगो भाँचिएर लडेर बित्नुभएछ। मैले उहाँका हाड बटुलेर गङ्गामा बगाएँ र दशगात्र र श्राद्ध गरेँ। घरको दुःख सम्झेर सहरमा राजाको सेवा गरेँ, र केही धन लिएर आएँ।”
यो सुनेर गोमा बेहोस भएर भुइँमा ढलिन्। होस आएपछि रुँदै भन्न थालिन्, “सात वर्षमा सत्तरी वर्षका बूढासँग विवाह भयो, ती पनि गए। हे स्वामी! मलाई अनाथ बनाएर कहाँ जानुभयो?”
नवराजले सम्झाए, “आमा! शोक नगर्नुहोस्। जन्मेपछि मर्नु त सबैले पर्छ। अब मेरो मुख हेर्नुहोस्। बुहारी कहाँ छिन्? यतिका दिन कसरी बस्नुभयो? घरभरि फूल, धूप र चन्दनको सुगन्ध आइरहेको छ, के पुण्य काम गर्नुभयो?”
गोमाले पहिले छोरालाई खाना खुवाइन्, अनि भनिन्, “तेरी पत्नी चन्द्रावती माइत गएकी छे। एक दिन सप्तर्षिले आएर मलाई स्वस्थानीको व्रत सिकाउनुभयो। त्यसैले मेरो दुःख हट्दैछ।” उनले स्वस्थानीको सबै कथा सुनाइन्।
गण्डकीमा हरि-हरको दर्शन
बिहान नवराज गण्डकीमा नुहाउन गए। नुहाइसकेपछि गण्डकीबाट हरि र हर, अर्थात् विष्णु र शिव प्रकट हुनुभयो र भन्नुभयो, “हे नवराज! तेरी आमाले गरेको स्वस्थानी व्रतको प्रभावले हामी प्रसन्न भयौँ। सुन, यो गण्डकीको दक्षिणतिर लावण्य देश छ। त्यहाँ राजा छैनन्, र हात्तीलाई सुनको कलश र फूलको माला दिएर राजा छान्न लगाइएको छ। तँ त्यहाँ जा। हामी त्यो हात्तीमा प्रवेश गरेर राज्याभिषेक तँलाई नै दिलाउनेछौँ। तँ राजा हुनेछस्।”
नवराजले स्तुति गरे, “हातमा शङ्ख र कपाल लिने, वनमाला र अस्थिमाला लगाउने, द्वारका र मसानमा बस्ने, गरुड र साँढे वाहन भएका, लक्ष्मी र पार्वतीका स्वामी हे हरि-हर! मेरा सबै पाप हरण गर्नुहोस्। आज मेरो जन्म सफल भयो।” हरि-हर अन्तर्धान हुनुभयो।
आमाको आशीर्वाद
हरि-हरको दर्शन पाएर नवराज सूर्यझैँ तेजिला भएर घर पुगे। गोमाले सोधिन्, “आज तँ इन्द्रभन्दा पनि तेजिलो देखिन्छस्, के भयो?” नवराजले सबै कुरा सुनाउँदै भने, “आमा! तपाईंको तपस्याको प्रभावले म यस्तो भएँ।”
गोमाले खुसी हुँदै भनिन्, “तेरा लागि स्वस्थानीको प्रसाद राखिदिएकी छु, ले। स्वस्थानी परमेश्वरीले सधैँ तेरो कल्याण गरून्, र तेरो मन सधैँ उहाँकै भक्तिमा लागिरहोस्।” उनले आठ-आठ गनेर राखेको प्रसाद सगुनसहित दिइन् र आशीर्वाद दिइन्, “हरि-हरको आशीर्वादले तँ लावण्य देशको राजा बन्।” नवराजले प्रसाद खाए, आमाका चरणमा दण्डवत् गरे र लावण्य देशतिर हिँडे।