श्रीस्वस्थानी व्रतकथा · अध्याय २६ / ३१
चन्द्रावतीको व्रत
भात पनि खरानी भयो
कुमारले भन्नुभयो, “हे अगस्त्य! ती ब्राह्मणहरू भात लिएर चन्द्रावती भएको ठाउँ पुगे। चन्द्रावतीले सोधिन्, ‘मेरा लागि पनि केही ल्याइदियौ?’”
ब्राह्मणहरूले भने, “हे पापिनी! तँ साह्रै पापिनी रहिछस्। तेरा लागि माग्न जाँदा राजाको भण्डार नै सुक्यो, र हामीले लाज भोग्नुपर्यो। राजमाताका लागि पकाएर राखेको यति भात ल्याइदिएका छौँ।”
भोकले व्याकुल भएकी चन्द्रावती तुरुन्तै खान लागिन्। ब्राह्मणहरूले भने, “यस्तो अवस्थामा पनि तँलाई धर्मको होस रहेनछ। मुख धोएर खा। तेरो हाल देखेर हामीलाई दया लाग्यो। तँ निरञ्जन, निराकाररूपी श्रीस्वस्थानी परमेश्वरीको व्रत गर्। त्यसैको प्रभावले तेरो उद्धार हुनेछ।” यति भनेर उनीहरू गए।
चन्द्रावती ठूलो दुःखले चार हात-पाउ टेक्दै मुख धुन शाली नदीतिर गइन्, तर नदीको पानी सुक्दै गयो। रुँदै माथि आएर मुख नधोईकनै भात खान खोज्दा भात हातमै खरानी भयो। त्यो खरानी खान खोज्दा ठूलो बतासले उडाइलग्यो। उनी काटेको रूख ढलेझैँ भुइँमा ढलेर बेहोस भइन्। होस आएपछि “मैले कस्तो अपराध गरेछु” भन्दै दुःखको समुद्रमा डुबिरहिन्।
अप्सराहरूको उपदेश
केही दिनपछि पुस शुक्ल पूर्णिमा आयो। स्वस्थानीको व्रत सुरु गर्न स्वर्गका अप्सराहरू शाली नदीमा नुहाउन आए। नुहाएर सूर्यलाई अर्घ्य दिई बालुवाको शिवलिङ्ग बनाएर महादेवको पूजा गर्न थाले।
चन्द्रावतीले भनिन्, “तपाईंहरू देवता हो कि मानिस? म पापिनी हिँड्न सक्दिनँ, कसैले केही दिँदैनन्, खान पाउँदिनँ। मलाई अन्न दिनुहोस्। म कुन पापले यस्ती भएँ, मेरो उद्धार कसरी होला?”
अप्सराहरूले भने, “हामी स्वर्गका अप्सरा हौँ। आज पुस शुक्ल पूर्णिमा हो, स्वस्थानीको व्रत सुरु गर्न यहाँ नुहाउन आएका हौँ। तेरो हाल देखेर दया लाग्यो। तँ पनि यही व्रत गर्, तेरा सबै पाप नाश भएर उद्धार होला।”
चन्द्रावतीले मनमनै सोचिन्, “मैले अरू पाप त गरेकी थिइनँ। डोलेहरूले ल्याइदिएको स्वस्थानीको प्रसादलाई घमण्डले थुकेर, कुल्चेर फालेँ, त्यही पाप लाग्यो। त्यसैले डोलीबाट नदीमा खसेँ। कपिल ब्राह्मणले पनि स्वस्थानीको व्रत गर्न भनेका थिए, आज अप्सराहरूले पनि त्यही भने। श्रीस्वस्थानी परमेश्वरी ठूली रहिछिन्। मानिस घमण्डले नै नष्ट हुँदा रहेछन्। अब म पनि उहाँको व्रत गर्छु।”
उनले व्रतको विधि सोधिन्। अप्सराहरूले भने, “आजैदेखि नङ काटेर, नुहाएर, एक छाक खाएर, एकचित्त भई महिनाभर हरेक दिन मध्याह्नमा महादेवको पूजा गर्नू। सक्छेस् भने स्वस्थानीको कथा भन्नू, नसके मनमनै उहाँलाई सम्झिरहनू। माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ पान, अक्षता, बेलीका फूल, सुपारी, जनै र रोटीसहित पूजा गर्नू। आठ-आठ वटा प्रसाद पतिलाई दिनू, नभए ‘मेरो यो कामना पूरा होस्’ भन्दै नदीमा बगाउनू, र सय रोटी आफैँ खाएर रात जाग्राम बस्नू।”
पापिनीदेखि पुण्यवती
अप्सराहरू स्वर्ग फर्के। चन्द्रावतीले उनीहरूले भनेअनुसार शाली नदीमा नुहाएर, एक छाक खाएर, एकचित्त भई स्वस्थानीलाई सम्झिरहिन्। व्रत गर्दै जाँदा उनको पाप घट्दै गयो, रोग निको हुँदै गयो, र शरीर दिव्य हुँदै गयो।
माघ शुक्ल पूर्णिमाका दिन अप्सराहरू फेरि नुहाउन आए। चन्द्रावतीले भनिन्, “तपाईंहरूको आज्ञाअनुसार पुस शुक्ल पूर्णिमादेखि व्रत गर्दैछु, तर व्रत पूरा गर्ने सामग्री केही छैन, के गरूँ?”
अप्सराहरूले भने, “केही छैन भने शाली नदीको बालुवा ल्याएर सामग्री बना र हामीसँगै पूजा गर्।” चन्द्रावतीले बालुवा ल्याएर मनमा जुन सामग्री चिताइन्, स्वस्थानीको कृपाले बालुवा त्यही सामग्री बन्यो। “धन्य श्रीस्वस्थानी परमेश्वरी!” भन्दै उनले अप्सराहरूलाई यो कुरा सुनाइन्।
बालुवाको सामग्री सिद्ध भएको र चन्द्रावतीको शरीर दिव्य भएको देखेर अप्सराहरूले भने, “आजसम्म तँलाई पापिनी भन्थ्यौँ, आजदेखि तेरो नाम पुण्यवती भयो।” उनीहरूले चन्द्रावतीलाई आफूसँगै व्रत गराए।
चन्द्रावतीको स्तुति
पूजा सकेर अर्घ्य लिँदै चन्द्रावतीले स्तुति गरिन्, “हे जगदीश्वरी! पहिले घमण्ड गरेर तपाईंको निन्दा गरेको अपराध क्षमा गर्नुहोस्। सबै प्राणीको हृदयमा बसेर पाप-पुण्यकी साक्षी, एउटै रूपबाट ब्रह्मा, विष्णु र महेश्वर बन्ने, पाँचै महाभूत र देवताकी पनि देवता तपाईंलाई कोटि-कोटि नमस्कार। म पापिनीको पूजाले प्रसन्न भएर मलाई यो घोर दुःखबाट पार लगाइदिनुहोस्।”
अप्सराहरू स्वर्ग फर्के। चन्द्रावतीले शाली नदीको किनारमा खरको झुपडी बनाइन् र स्वस्थानीलाई सम्झँदै रात जाग्राम बसिन्।
बिहान नुहाएर उनले आठ-आठ वटा प्रसाद सगुनसहित हातमा लिइन् र भनिन्, “हे ईश्वरी! मेरा स्वामी यहाँ हुनुहुन्न, कसलाई दिऊँ? मेरा पति नवराजसँग छिट्टै भेट होस्।” यति भनेर उनले प्रसाद शाली नदीमा बगाइन्, र सय रोटी आफैँ फलाहार गरिन्।
व्रतको प्रभावले चन्द्रावतीको पाप र रोग पूरै निको भयो, र उनको शरीर पहिलेभन्दा पनि दिव्य भयो। उनी खुसी हुँदै “धन्य श्रीस्वस्थानी परमेश्वरी!” भन्दै बारम्बार प्रणाम गर्न थालिन्।