← श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा · अध्याय १२ / ३१

पार्वतीलाई स्वस्थानी व्रतको उपदेश

पार्वतीको जन्म

कुमारले भन्नुभयो, “हे अगस्त्य! केही समयपछि हिमालय पर्वतकी पत्नी मेनका गर्भवती हुनुभयो। समय पुगेपछि उहाँले एउटी छोरी जन्माउनुभयो।”

त्यो कन्या हजार सूर्यजस्तै तेजिली, कोमल अङ्ग र कमलका पत्रजस्ता आँखा भएकी परम सुन्दरी थिइन्। हिमालयले वशिष्ठ र गर्गलगायत ऋषि-ज्योतिषी बोलाएर न्वारान गराए। ऋषिहरूले भने, “यस बालिकाको नाम पार्वती राख्यौँ। यिनले महादेवलाई पति पाएर चौधै भुवनकी स्वामिनी बन्नेछिन् र दुष्टहरूको संहार गर्नेछिन्।” हिमालयले खुसी भएर उनीहरूलाई दक्षिणा दिएर बिदा गरे।

पार्वती शुक्ल पक्षको चन्द्रमाझैँ दिनदिनै बढ्दै गइन्। खेल्दा पनि उनी शिवको पूजा गर्दै खेल्थिन्। सानैदेखि उनको मन शिवको भक्तिमा थियो।

विष्णुसँग विवाहको कुरा

एक दिन नारद विष्णुकहाँ गएर भने, “हे वैकुण्ठनाथ! हिमालयकी छोरी पार्वती लक्ष्मीभन्दा पनि सुन्दरी छिन्। उनी सबै तरहले तपाईंको योग्य छिन्, उनीसँग विवाह गर्नुहोस्।” विष्णुले सोध्नुभयो, “के हिमालयले उनलाई मलाई देलान् र?” नारदले भने, “त्यसको चिन्ता नगर्नुहोस्, म अहिल्यै कुरा पक्का गरेर आउँछु।”

नारद हिमालयकहाँ पुगेर भने, “आफ्नी छोरी पार्वती वैकुण्ठनाथ विष्णुलाई दिनुहोस्।” हिमालय खुसी भए र स्वीकार गरे। विवाहको साइत तोकियो, र देवता, यक्ष, गन्धर्व सबैलाई निम्तो पठाइयो। विष्णु कन्यादान लिन हिमालयकहाँ आइपुग्नुभयो, र मेनकाले पार्वतीलाई रत्न र गहनाले सिँगारिन्।

पार्वती वनमा लुकिन्

जया, विजयालगायत सखीहरूले भने, “आज तिम्रो विवाह छ, तिमीलाई विष्णुलाई दिँदैछन्।” यो सुनेर पार्वतीले भनिन्, “म सानैदेखि महादेवलाई पति पाऊँ भनेर पुकारिरहेकी छु। उहाँबाहेक अरू कसैलाई दिए भने म प्राण त्याग्छु।”

सखीहरूले भने, “त्यसो हो भने हामी तिमीलाई कसैले नदेख्ने ठाउँमा लुकाइदिन्छौँ।” उनीहरूले पार्वतीलाई नदी किनारको वनमा एकान्त ठाउँमा लुकाइदिए।

कन्यादानको बेला पार्वती कतै भेटिइनन्। हिमालय आत्तिएर गुरु बृहस्पतिकहाँ पुगे। बृहस्पतिले यो साइतमा विवाह हुँदैन भनेर विष्णुलाई बिन्ती गरे, र सबै पाहुना आ-आफ्नो ठाउँ फर्के।

बालुवाको शिवलिङ्ग

वनमा पार्वतीले नदी किनारको बालुवाबाट शिवलिङ्ग बनाइन् र महादेवको आराधना गर्न थालिन्। त्यही बेला प्रघोष र दमघोष नामका दुई दैत्य आएर पार्वतीलाई नराम्रो नियतले हेर्न थाले। पार्वतीले रिसाएर उनीहरूलाई हेर्नेबित्तिकै दुवै भस्म भए।

त्यही बालुवाको शिवलिङ्गबाट महादेव ज्योतिरूपमा प्रकट हुनुभयो र सोध्नुभयो, “हे पार्वती! तिमी मेरो आराधना किन गर्दैछौ?” पार्वतीले भनिन्, “म सानैदेखि तपाईंलाई पति पाऊँ भनेर पुकारिरहेकी छु। बुबाले मलाई विष्णुलाई दिन लाग्नुभएकाले म यहाँ लुकेकी हुँ। मेरो इच्छा पूरा गरिदिनुहोस्।”

महादेवले भन्नुभयो, “तिम्रा आमाबुबाले कन्यादान नगरी मैले तिमीलाई आफ्नी भन्न मिल्दैन। अब विष्णु आएर तिमीलाई जुन उपदेश दिनुहुन्छ, त्यसै गर, तिम्रो इच्छा पूरा हुनेछ।”

पार्वती घर फर्किन् र बुबालाई भनिन्, “म सानैदेखि महादेवलाई पति पाऊँ भनेर उहाँकै ध्यान र भक्ति गरिरहेकी छु। तपाईंले मलाई विष्णुलाई दिन लाग्दा म लुक्न गएकी थिएँ।” न्वारानका दिन ऋषिहरूले गरेको भविष्यवाणी सम्झेर हिमालय चुप लागे। त्यसपछि पार्वती धेरै तीर्थ, व्रत र दान गर्दै विष्णुको प्रतीक्षा गर्न थालिन्।

स्वस्थानी व्रतको उपदेश

एक दिन शङ्ख, चक्र, गदा र पद्म धारण गरेर विष्णु पार्वतीसामु प्रकट हुनुभयो र भन्नुभयो, “तिम्रा तीर्थ, व्रत र पूजा देखेर म प्रसन्न भएँ। जे इच्छा छ, वर माग।”

पार्वतीले भनिन्, “मलाई अरू कुनै वर चाहिँदैन। महादेवलाई पति पाउने वर मात्र दिनुहोस्।”

विष्णुले भन्नुभयो, “हे पार्वती! तिमीले गरेका सबै व्रतभन्दा पनि उत्तम र गोप्य एउटा कुरा भन्छु, ध्यान दिएर सुन। श्रीस्वस्थानी परमेश्वरीको व्रत गर। त्यस व्रतको प्रभावले तिमीले जगदीश्वर महादेवलाई पति पाउनेछौ, यसमा शङ्का छैन।”

पार्वतीले व्रतको विधि सोधिन्, र विष्णुले यसरी बताउनुभयो।

व्रतको विधि

पुस शुक्ल पूर्णिमाका दिनदेखि व्रत सुरु गर्नुपर्छ। एक दिनअघि नै हात-खुट्टाका नङ काटेर, नुहाएर शुद्ध हुनुपर्छ। व्रतभरि दिनमा एक छाक मात्र खाएर, मन एकाग्र गरी हरेक दिन मध्याह्नमा महादेवको पूजा गर्नुपर्छ।

एक महिनापछि, माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ रोटी, एक सय आठ अक्षता, एक सय आठ बेलीका फूल, एक सय आठ कुड्का सुपारी, एक सय आठ पान र थरीथरीका फलफूल र नैवेद्य तयार पार्नुपर्छ। तामाको थाली वा ऐनामा ओङ्कार लेखेर गङ्गाजलले स्नान गराई, चन्दन लगाई, पहेँलो वस्त्र चढाई, धूप, दीप र नैवेद्यसहित पूजा गर्नुपर्छ। त्यसपछि स्तोत्र, जप र ध्यान गरेर अर्घ्य दिनुपर्छ।

स्वस्थानी देवीको रूप

विष्णुले भन्नुभयो, “आठ पत्रको कमलमा आठ मातृकासहित बस्नुभएकी, हातमा खड्ग, त्रिशूल र नीलो कमल धारण गर्नुभएकी, वरदान दिने मुद्रामा रहनुभएकी, चार हात र तीन आँखा भएकी, सबै गहनाले सजिनुभएकी र सुनभन्दा पनि चम्किलो वर्णकी श्रीस्वस्थानी परमेश्वरीको ध्यान गर्नू। अनि ‘हे जगदीश्वरी!’ भन्दै मनमनै आफ्नो इच्छा माग्नू।”

प्रसाद र जागरण

पूजापछि एक सय आठमध्ये आठ रोटी, आठ अक्षता, आठ बेलीका फूल, आठ पान र आठ कुड्का सुपारी सगुनसहित आफ्ना पतिलाई दिनू। पति नभए छोरालाई, छोरा नभए मीत छोरालाई दिनू। मीत छोरा पनि नभए “मेरो यो कामना पूरा होस्” भन्दै गङ्गामा बगाइदिनू। बाँकी सय रोटी आफैँ फलाहारका रूपमा खानू। रातभर जाग्राम बसेर स्वस्थानीकै महिमाको गीत, भजन र कीर्तन गर्नू, र कथा सुन्नू-सुनाउनू।

विष्णुले भन्नुभयो, “यति गरेपछि इच्छा अवश्य पूरा हुन्छ। हे पार्वती! स्वस्थानीको प्रसाद ग्रहण गर्ने बेलामा महादेव आफैँ तिम्रो सामु प्रकट हुनुहुनेछ।”

पार्वतीले सन्तोष र आनन्द मान्दै विष्णुको पूजा गरिन् र प्रणाम गरिन्। विष्णु गरुडमा चढेर वैकुण्ठ फर्कनुभयो।