श्रीस्वस्थानी व्रतकथा · अध्याय १३ / ३१
पार्वती र महादेवको विवाह
पार्वतीको व्रत
कुमारले भन्नुभयो, “हे अगस्त्य! पुस शुक्ल पूर्णिमा आयो। पार्वतीले विष्णुले बताउनुभएअनुसार व्रत सुरु गरिन् र हरेक दिन मध्याह्नमा महादेवको पूजा गर्न थालिन्। एक महिना पूरा भएपछि माघ शुक्ल पूर्णिमाका दिन उनले सबै सामग्री तयार पारेर विधिपूर्वक श्रीस्वस्थानी परमेश्वरीको पूजा, ध्यान, जप र स्तोत्रपाठ गरिन्।”
कामदेव भस्म
यो खबर पाएर इन्द्रले देवताहरूलाई भने, “अब पापी तारकासुरको नाश हुने समय आयो। पार्वतीले महादेवलाई पति पाएपछि उनीबाट जन्मने कुमारले नै तारकासुरलाई मार्नेछन्। तर महादेव काम, क्रोध, लोभ र मोह त्यागेर कठोर तपस्यामा हुनुहुन्छ। उहाँलाई तपस्याबाट कसरी उठाउने?”
देवताहरूले भने, “यो काम कामदेवबाहेक अरू कसैले सक्दैन।” इन्द्रले वायुलाई पठाएर कामदेवलाई बोलाए र भने, “महादेवबिना संसारको रक्षा कसले गर्ला? तिमी गएर उहाँलाई कामबाण हानेर फेरि संसारमा फर्काऊ।”
कामदेव पत्नी रतिसँग उत्तर गए। उनले पहिले महादेवलाई दण्डवत् गरे, अनि इन्द्रको आज्ञाअनुसार कामबाण तानेर महादेवको हृदयमा हाने। महादेवले रिसाएर आँखा खोल्नुभयो, र उहाँका तीनै आँखाबाट निस्केको आगोले कामदेवलाई भस्म पार्यो।
रतिको बिन्ती
पति भस्म भएको देखेर रति रुँदै महादेवका पाउमा परिन् र भनिन्, “हे प्रभु! यो मेरा पतिको अपराध होइन। उनले इन्द्रको आज्ञाले बाण हानेका हुन्। मलाई विधवा नबनाउनुहोस्, मेरा पतिलाई जीवनदान दिनुहोस्।”
महादेवलाई दया लाग्यो र उहाँले भन्नुभयो, “हे रति! यो जन्ममा तिमीले पतिलाई पाउन सक्दिनौ। द्वापर युगको अन्त्यमा विष्णु कृष्णको अवतार लिनुहुनेछ। तिम्रा पति उहाँका छोरा प्रद्युम्न भएर जन्मनेछन्, र तिमीहरूको फेरि भेट हुनेछ। अहिले दुःख नमानी घर जाऊ।” रति महादेवलाई प्रणाम गरेर घर फर्किन्।
इन्द्रको भेषमा महादेव
त्यसपछि महादेवले ध्यान लगाएर हेर्नुभयो। सती हिमालयकी छोरी पार्वती भएर जन्मिएकी छिन्, उहाँलाई पति पाउन तीर्थ, व्रत र तपस्या गर्दैछिन्, र विष्णुको उपदेशले स्वस्थानीको व्रत गर्दैछिन् भन्ने उहाँले थाहा पाउनुभयो। उहाँले सोच्नुभयो, “उनको मन जाँच्छु।”
महादेव इन्द्रको रूप लिएर, हातमा वज्र बोकेर, ऐरावत हात्तीमा चढेर पार्वती व्रत गरिरहेकी ठाउँमा पुग्नुभयो। पार्वतीले व्रत पूरा गरिसकेर हातमा अर्घ्य लिँदै भनिरहेकी थिइन्, “हे ईश्वरी! सृष्टि, पालन र संहार गर्ने, तीन गुण र पाँच महाभूत सबै तपाईं नै हुनुहुन्छ। मेरो पूजाले प्रसन्न हुनुहोस्।” उनी प्रसाद झिक्दै थिइन्, त्यही बेला इन्द्ररूपी महादेव आइपुग्नुभयो।
पार्वतीले सत्कार गरेर सोधिन्, “हे देवराज! के कामले आउनुभयो?” इन्द्ररूपी महादेवले भन्नुभयो, “हे पार्वती! तिम्रो भक्ति देखेर म प्रसन्न भएँ। तर तिमी जसलाई पति पाउन व्रत गर्दैछ्यौ, ती महादेव भाङ-धतुरो खाएर लाज नमानी डुल्छन् र मसानमा बस्छन्। तिमीजस्ती सुन्दरीका लागि ती योग्य छैनन्। म सबै देवताको राजा हुँ। बरु मलाई पति बनाएर स्वर्गकी रानी बन।”
पार्वती रिसले चुर भइन्, “हे पापी इन्द्र! स्वस्थानी परमेश्वरीको व्रत गरेको ठाउँमा आएर महादेवको निन्दा गर्छौ? म यो सहन सक्दिनँ, तिमीलाई श्राप दिन्छु।” पार्वती श्राप दिन लागेको देखेर महादेवले भन्नुभयो, “हे पार्वती! म इन्द्र होइन, तिम्रो मन जाँच्न इन्द्रको रूप लिएर आएको हुँ। धन्य छ तिम्रो भक्ति!” उहाँले आफ्नो वास्तविक रूप देखाउनुभयो।
पार्वतीले प्रणाम गरेर भनिन्, “मैले धेरै व्रत र तपस्या गरेँ, तैपनि तपाईंको दर्शन पाइनँ। आज विष्णुको उपदेशले गरेको स्वस्थानीको व्रतको प्रभावले दर्शन पाएँ। तर अझै कन्यादान भएको छैन, प्रसाद कसरी दिऊँ?”
गोत्रको प्रश्न
महादेव कन्यादान लिन हिमालयको घर जानुभयो। हिमालय र मेनका असाध्यै खुसी भए। ऋषि-ज्योतिषीले अक्षय तृतीयाको शुभ साइत तोके। सबै देवता, ऋषि, यक्ष र गन्धर्व आए। ब्रह्माले यज्ञ गराउनुभयो, ब्राह्मणहरूले वेद पढे, र अप्सराहरूले नाचगान गरे। मेनकाले पार्वतीलाई गहना र वस्त्रले सिँगारिन्, र तीनै लोकमा पार्वतीभन्दा सुन्दर कोही देखिएनन्।
हिमालयले हातमा जौ, तिल र कुश लिएर पार्वतीको हात समाते, र मेनकाले सुनको कमण्डलुबाट जलको धारा दिइन्। कन्यादानको सङ्कल्प गर्दा हिमालयले सोधे, “हे ईश्वर! तपाईंको गोत्र के हो? गोत्रबिना गरेको शुभ काम अधुरो हुन्छ भनी शास्त्रमा भनिएको छ।”
महादेवले केही जवाफ दिन सक्नुभएन र लाज मानेर तल हेरिरहनुभयो। विष्णुसहित कुनै देवताले पनि केही भन्न सकेनन्।
त्यही बेला सतीका हाडबाट बनेको वीणा बजाउँदै, शिवको गीत गाउँदै नारद आइपुगे। उनले भने, “हे गिरिराज! यिनी सारा ब्रह्माण्डको सृष्टि, पालन र संहार गर्ने आदिपुरुष हुन्। एउटै भएर पनि आफ्नो मायाले ब्रह्मा, विष्णु र महेश तीन रूप बन्छन्। यिनका न आमाबुबा छन्, न जात, न गोत्र। तेत्तीस कोटि देवता र चौधै भुवनका सबै जीवका आमाबुबा यिनै हुन्। शङ्का नगरी पार्वतीलाई यिनैलाई कन्यादान दिनुहोस्।” सबैले नारदको कुरा समर्थन गरे।
हिमालयले महादेवलाई पार्वतीको कन्यादान दिए। पार्वतीले महादेवको गलामा फूलको माला लगाइदिइन्, तीन पटक परिक्रमा गरिन् र पाउमा ढोगिन्। हिमालयले सबै पाहुनालाई भोजन गराएर दक्षिणा दिए। सबैले भने, “हे हिमालय! तिमी धन्य छौ। कठोर तपस्याले पनि दर्शन नपाइने महादेवलाई तिमीले ज्वाइँका रूपमा पायौ।”
व्रत संसारमा फैलाउने इच्छा
त्यसपछि पार्वतीले स्वस्थानीको प्रसाद आठ रोटी, आठ अक्षता, आठ बेलीका फूल, आठ पान र आठ कुड्का सुपारी सगुनसहित महादेवको हातमा दिँदै भनिन्, “स्वामी! अब मेरो तपस्या पूरा भयो। सानैदेखिको इच्छा आज पूरा भयो। श्रीस्वस्थानीको व्रतको प्रभावले मैले तपाईंजस्तो पति पाएँ।”
उनले अझै भनिन्, “यो संसारमा कोही गरिब छन्, कोही दुःखी छन्, कोही पापी छन्, कसैका पत्नी छैनन्, कसैका पति छैनन्। यो व्रत संसारमा फैलाउन पाए उनीहरू सबैको कल्याण हुन्थ्यो।”
महादेवले भन्नुभयो, “प्रिये! तिमी धन्य छौ। दुःखी र गरिबप्रति तिम्रो मनमा यति दया रहेछ। अश्वत्थामा ऋषिलाई बोलाएर रसातल पातालमा पठाऊ। त्यहाँ उनले यो व्रत फैलाउनेछन्।”