← श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा · अध्याय १४ / ३१

किरात-किरातिनी र किरातेश्वर

अश्वत्थामा पाताल गए

पार्वतीले अश्वत्थामा ऋषिलाई बोलाउन पठाइन्। ऋषि आएर शिव-पार्वतीलाई प्रणाम गर्दै सोधे, “हे भवानीशङ्कर! मलाई किन बोलाउनुभयो?”

पार्वतीले भनिन्, “हे अश्वत्थामा! तिमी रसातल पाताल जाऊ। त्यहाँ जो दुःखी छन्, गरिब छन्, पापी छन्, जसका पत्नी वा सन्तान छैनन्, उनीहरूलाई यो व्रत गर्न सिकाऊ।” उनले विष्णुले आफूलाई सिकाउनुभएझैँ व्रतको सबै विधि बताइन्। अश्वत्थामा ऋषि शिव-पार्वतीलाई प्रणाम गरेर रसातल पाताल गए।

महादेव लुक्नुभयो

कुमारले भन्नुभयो, “हे अगस्त्य! एक दिन महादेवले सोच्नुभयो, ‘पार्वती कति चलाख रहिछन्, जाँचौँ।’ उहाँ कसैले नदेख्ने ठाउँमा लुक्न जानुभयो।”

पार्वतीले महादेवलाई धेरै ठाउँमा खोजिन् र अन्त्यमा भेट्टाइन्। उनले भनिन्, “स्वामी! मलाई छलेर किन लुक्नुभएको? म तपाईंलाई मन परिनँ कि?” महादेव केही बोल्नुभएन। उहाँले मनमनै सोच्नुभयो, “पार्वतीले मलाई यसै छोड्ने रहिनछन्। रूप फेरेर वनमा घुम्न जान्छु।”

श्लेष्मान्तक वनमा किरात

महादेव अन्तर्धान भएर श्लेष्मान्तक वनमा किरातको रूप लिएर सिकार खेल्न थाल्नुभयो। पार्वतीले ध्यान लगाएर हेर्दा यो थाहा पाइन् र महादेवलाई झुक्याउन एउटी सुन्दरी किरातिनीको रूप लिइन्। उनी पनि त्यही वनमा पुगेर एउटा ठूलो रूखको छहारीमा बसिन्।

केही बेरपछि सिकार खेल्दै किरातरूपी महादेव त्यहीँ आइपुग्नुभयो। किरातिनीलाई देखेर उहाँ मोहित हुनुभयो र सोध्नुभयो, “हे सुन्दरी! तिमी को हौ? देवकन्या, नागकन्या कि स्वर्गकी अप्सरा? बाघ र हात्ती भएको यस्तो भयानक वनमा एक्लै किन बसेकी? तिमीलाई डर लाग्दैन?”

त्यो बेला महादेवको देब्रे हातमा धनुष, दाहिने हातमा त्रिशूल र काँधमा बाणको ठोक्रो थियो, र उहाँले सर्पका गहना लगाउनुभएको थियो। पार्वतीले उहाँलाई चिनिन् र मनमनै प्रणाम गरिन्। अनि भनिन्, “हे किरात! म किरातिनी हुँ, त्यसैले मलाई वनका जनावरको डर लाग्दैन। म यहाँ तपस्या गरेर बसेकी छु।”

कुरा गर्दागर्दै साँझ पर्‍यो। किरातले भने, “तिमी पनि एक्लै, म पनि एक्लै। आज हामी यहीँ बास बसौँ।” पार्वतीले भनिन्, “तिमी लोग्नेमान्छे, म आइमाई। यस्तो जङ्गलमा एकै ठाउँ कसरी बास बस्नु?” किरातले शङ्का नगर्न भने, र दुवै त्यही रूखमुनि बास बसे। यसरी धेरै दिन बिते।

पार्वतीको युक्ति

एक दिन पार्वतीले सोचिन्, “भोलेनाथ त यसरी नै सधैँ बस्न सक्नुहुन्छ। केही युक्ति गर्नुपर्‍यो।” उनले लुकेर आकाशवाणीझैँ स्वरमा भनिन्, “हे जगदीश्वर! विष्णु, इन्द्रलगायत हामी सबैले ठूलो दुःख पायौँ। कैलाश सुनसान भएको धेरै दिन भयो। कैलाश फर्केर हाम्रो उद्धार गर्नुहोस्।”

यो सुनेर महादेव अचम्ममा पर्नुभयो र किरातिनीलाई खोज्न थाल्नुभयो। पार्वती केही थाहा नपाएझैँ गरी फलफूल टिप्दै थिइन्। महादेवले सोध्नुभयो, “तिमी कहाँ गएकी थियौ? मैले खोज्दा भेटिनँ।” पार्वतीले भनिन्, “भोक लागेर कन्दमूल खोज्न गएकी थिएँ।”

पूर्ण चन्द्रमाभन्दा पनि सुन्दरी किरातिनीलाई देखेर किरातरूपी महादेवले उनलाई समात्न खोज्नुभयो। पार्वतीले भनिन्, “हे किरात! के तिम्रो धर्म यही हो? मैले महादेवबाहेक अरू कसैलाई पति नबनाउने प्रण गरेर यहाँ तपस्या गरिरहेकी छु। तिमीले यस्तो गरे म श्राप दिएर प्राण त्याग्छु।”

किरातले भने, “तिम्रो त्यस्तो प्रण छ भने सुन, म उही महादेव हुँ। वनमा घुम्ने मन लागेर यहाँ आएको हुँ। नपत्याए हेर।” उहाँले आफ्नो ज्योतिरूपको दर्शन दिनुभयो। पार्वतीले दण्डवत् गरेर भनिन्, “अब मेरा आमाबुबाकहाँ कन्यादान लिन हिँड्नुहोस्।” महादेव किरातिनीको पछिपछि लाग्नुभयो।

किरातेश्वर र गौरीघाट

हिमालयको घर पुगेपछि महादेवले थाहा पाउनुभयो कि किरातिनी त पार्वती नै रहिछन्। उहाँले सोच्नुभयो, “मलाई छलेर आफ्नै माइत ल्याइन्।” लाज मानेर उहाँ त्यहाँबाट अन्तर्धान हुनुभयो र श्लेष्मान्तक वनको उत्तरतिर किरातेश्वर शिवलिङ्ग भएर बस्नुभयो।

महादेवलाई नदेखेर चिन्तित भएकी पार्वतीले ध्यान लगाएर हेरिन् र उहाँ किरातेश्वर शिवलिङ्ग बनेको थाहा पाइन्। त्यसपछि उनी हरेक दिन वाग्मतीमा नुहाएर किरातेश्वरको पूजा र तपस्या गर्न थालिन्। पार्वतीले नुहाएको ठाउँको नाम गौरीघाट रह्यो। गौरीघाटमा नुहाएर किरातेश्वरको दर्शन गर्नेका सबै पाप नाश हुन्छन् र उसले यो लोकमा सुख र परलोकमा कैलाशवास पाउँछ भनिन्छ।

कैलाश फर्की

पार्वतीको कठोर तपस्याले प्रसन्न भएर महादेवले फेरि ज्योतिरूपको दर्शन दिनुभयो। पार्वतीले भनिन्, “स्वामी! मलाई किन बारम्बार दुःख दिनुहुन्छ? म तपाईंलाई मन परिनँ कि?” महादेवले उनलाई अँगालो हालेर काखमा राख्नुभयो र दुवै हिमालयको घर जानुभयो।

छोरी-ज्वाइँ आएको देखेर हिमालयले उनीहरूलाई सिंहासनमा राखेर थरीथरीका परिकार खुवाए। केही दिनपछि महादेवले भन्नुभयो, “प्रिये! कैलाश सुनसान भएको धेरै भयो, अब जाऔँ।” उहाँले हिमालयलाई “हे पिता!” भनेर बिदा माग्नुभयो।

महादेवले आफूलाई “पिता” भनेको सुनेर हिमालय भावविभोर भए र स्तुति गर्न थाले, “हे त्रैलोक्यनाथ! समुद्रको घरमा लक्ष्मी-नारायण बस्दा समुद्रलाई आनन्द भएझैँ तपाईं दुवै मेरो घरमा बस्दा मलाई आनन्द भयो। संसार जलाउन लागेको कालकूट विष घाँटीमा राखेर नीलकण्ठ कहलाउने, त्रिपुरासुरलाई मार्ने, जीवन र मृत्यु दुवै भएर सबैको हृदयमा बस्ने तपाईंलाई कोटि-कोटि नमस्कार।”

महादेवले भन्नुभयो, “हे गिरिराज! तिम्रो भक्तिले म प्रसन्न भएँ। सधैँ मेरो भक्तिमा मन लगाऊ, अन्त्यमा कैलाश पाउनेछौ।” त्यसपछि उहाँ पार्वतीलाई काखमा राखेर साँढेमा चढ्नुभयो र कैलाश गएर आफ्ना गणसहित आनन्दले बस्नुभयो।